माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगायो

२० असोज, काठमाडौं । सत्ता गठबधनको प्रमुख दल नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।