वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार

२० असोज, काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।

दशैंको अवसरमा सर्वोच्च बारले आज चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो ।

मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका छन् ।

आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले बताए । ‘विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर हामी सांकेतिक रुपमा अनुपस्थित भएका हौं’, ती वरिष्ठ अधिवक्ताले भने ।

वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा गएनन् । सञ्चो नभएको भन्दै उनी नआएको सर्वोच्च बारका एक पदाधिकारीले बताए । चियापन कार्यक्रमा सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, हरि फुयाल, मनोज शर्मा र नहकुल सुवेदी उपस्थित थिए ।

सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले भने केही वरिष्ठ अधिवक्ताहरु भने आएको दाबी गरेका छन् ।