गठबन्धन दलबीच भागबन्डा मिल्यो : काँग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई ४–४ वटा मन्त्रालय भागबन्डा

१९ असोज, काठमाडौं । पाँच दलीय गठबन्धनबाट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल गठन गर्न सकेकोे छैनन् । सरकार बनेको साढे तीन महिना बित्न लाग्यो तर अझै मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । पाँच दलीय गठबन्धनको आज बिहान बसेको बैठकले मन्त्री भागबन्डा सकेको छ । चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् ।

सहमतिअनुसार सरकरको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ । हाल उसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ ।

माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । उसले अहिले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । अब उसले शिक्षासहितका मन्त्रालय पाउनेछ ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चाररचार मन्त्रालय पाउने छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।

जसपालाई उपसभामुख, अरुलाई एक राज्यमन्त्री  दिने निर्णय

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको एक नेताले बताए ।

सत्तारुढ दलका नेताहरुका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि मन्त्रालयमा भाग खोजेका थिए । सुरुमा दुई मन्त्रालय मागेका जबराले वन र उद्योगमा दाबी गरेका थिए । मन्त्रालय भागवण्डा मिलाउन नसक्ने अवस्था आएपछि सञ्चार तथा प्रविधि मन्त्रालय दिए एउटा मात्र लिने बताएका थिए ।

तर प्रधानमन्त्री देउवाले सञ्चार नदिने अडान लिए । अब मंगलबार भएको भागवण्डामा जबरालाई छुट्याइएको छैन । सत्तारुढ दलका एक नेता भन्छन्, ‘कांग्रेसले ८ वटा मन्त्रालय राखेको छ, अब त्यहीँबाट मिलाउनुहुन्छ होला ।’