तीन वटै प्रतिवेदनमाथिका जवाफ दिदैं एमाले विधान महाधिवेशन सकिदै

नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन राजनीतिक, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्दै आज सकिँदैछ । महाधिवेशनको अन्तिम दिन आज पाँच समूहगत छलफलमा आएका सुझाव संकलन गरी टोली नेताले निष्कर्ष सुनाएपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएर महाधिवेशन समापन गर्ने तयारी रहेको बुझिएको छ ।

१० समूहमा विभाजन गरेर तीन दस्तावेजमाथि प्रतिनिधिहरुले छलफल गरेका थिए । हिजो शनिबार १० मध्ये ५ समूहले समूहभित्र उठेका प्रश्नसहितको निष्कर्ष सुनाएका थिए ।

आज प्रदेश नं.२, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन तथा प्रवासका समूहका समुह नेताले आआफ्नो समूहको तर्फबाट सुझाव राख्दै छन् । उनीहरुको सुझावपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले साङ्गठानिक प्रतिवेदन र विष्णु पौडेलले विधान संशोधनमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

तीन वटै प्रतिवेदनमा शनिबार केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले सुझाव पेश गरेका छन् ।