फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा

एजेन्सी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । ‘बहुसंख्यक फिलिपिनोहरुको भावना म योग्य छैन भन्ने छ । मैले उपराष्ट्रपतिको चुनाव लड्नु संविधानको मर्मविपरीत हुन्छ भन्ने उनीहरुलाई लागेको छ,’ दुतार्तेले भने, ‘म राजनीतिबाट सन्यासको घोषणा गर्छु ।’

यसअघि गत अगस्टमा दुतार्तेले उपराष्ट्रपतिमा चुनाव लड्ने घोषणा गरेका थिए । विपक्षी दलहरुले भने दुतार्तेको उपराष्ट्रपति लड्ने योजनाको वैधताप्रति प्रश्न उठाएका थिए । उनीहरुले यो निर्णय संविधानको मर्मविपरीत रहेको बताएका थिए । फिलिपिन्समा एकपटक ६ वर्षको कार्यकाल सकेपछि राष्ट्रपतिले दोस्रोपटक चुनाव लड्न पाउँदैनन् ।

विपक्षीको चर्को दबाबपछि दुतार्तेले आगामी वर्ष हुने उपराष्ट्रपतिको चुनाव नलड्ने र आफ्नो कार्यकाल समाप्तिसँगै राजनीतिबाट सन्यास लिने घोषणा गरे । २०१६ मा निर्वाचित भएका राष्ट्रपति दुतार्तेको कार्यकाल आगामी वर्ष सकिँदैछ ।