एमालेको प्रथम विधान महाधिवेशन केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेला हो

नेकपा (एकीकृत समाजवादी) महासचिव, वेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिएका छन्।

आज आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौं रकम पैसा खर्च गर्ने, र त्यहाँ मोजमजा गर्ने थलो बनाइएको छ। त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो। त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ। नयाँ कुरा मैले केही पनि देख्दिनँ। फरक विचार प्रस्तुत गर्नै पाइएन। घनश्याम भुसालले केन्द्रीय कमिटीमा फरक दस्तावेज पेस गरे, तर गोदावरीमा त्यो प्रस्तुत गर्न दिइएन।’

उनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मान्छु भन्ने एमालेमा अहिले प्रथम विधान महाधिवेशनमा फरक विचार पनि राख्न नदिइएको टिप्पणी गरे।

उनले भने,‘विचारको विविधितालाई अंगीकार गर्ने काम भएन। ओलीको प्रतिवेदनमा न्यायालयमाथि विषवमन गरिएको छ। स्वतन्त्र न्यायालयमाथि धावा बोल्ने काम गरिएको छ। कानूनी राज्यको सिद्धान्त पालना गर्ने कुरा पनि एमालेमा छैन। पार्टीलाई विधानअनुसार चलाउने कुरा पनि देखिँदैन। अहिलेको भेला भन्नुहोस्, वा मेला यो ओलीको प्रशंसामा गीत गाएर समाप्त हुन्छ।’

यस्तै उनले सरकार गठनमा ढिलाइ हुनुमा अझै मन्त्रालय बाँडफाँटमा सहमति हुनु प्रमुख कारण रहेको सुनाएका छन्।

उनले भने,‘मन्त्रालय बाँडफाँट हुन बाँकी छ। मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरूले मन्त्रीहरूको नाम दिन्छन्।’

आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन्।

उनले भने,‘सरकार विस्तार छिट्टै हुन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ। अहिले हाम्रो अध्यक्ष बिरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो। प्रधानमन्त्रीको व्यस्तताको कारण सायद उहाँले भेटघाट गर्न भ्याउनुभएको छैन होला, तर अब छिट्टै सरकार विस्तार हुन्छ। सरकारले छिट्टै पूर्णता पाउनेछ। त्यसपछि सरकारले गर्नुपर्ने काम अघि बढ्नेछन्।’

उनले सरकारले कहिलेसम्म पूर्णता पाउँछ भनेर ठ्याक्कै भविष्यवाणी गरेर भन्न नसकिने पनि बताए।

उनले थपे,‘राजनीतिमा भविष्यवााणी गर्न सकिँदैन। गरे पनि लागु हुँदैन। तर, सरकारलाई पूर्णता दिने सवालमा हाम्रो पार्टीबाट बाधा छैन। माधव नेपाल बिरामी भएर प्रधानमन्त्रीसँग भेटवार्ता हुन नपाएको हो। सरकार विस्तारमा ढिलाइ भएको छ, यो कुरा साँचो हो। मेरो विचारमा भोलिसम्म सरकार विस्तार हुनसक्छ।’