नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । आज भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बिजयी भएका थिए भने उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत गरेका छन्। काँग्रेस केन्द्रीय सदस्य गगन थापा निकट राजारामको प्यानललाई पूर्व महामन्त्री प्रकाशमान सिंहको पनि समर्थन थियो ।
काठमाडौंको नगर अधिवेशनमा सिंह र थापा निकट उम्मेदवारको एउटै प्यानल बनेको छ । सिंह थापा निकट प्यानल सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकट प्यानलसँग प्रतिस्पर्धामा छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृह नगरसमेत रहेको बूढानीलकण्ठमा सिंह थापा प्यानलले क्लिन स्विप पारेको छ ।
बूढानीलकण्ठका ३, ४, ५, र ७ नम्बर वडा सहमहामन्त्री प्रकाशशरण महतको निर्वाचन क्षेत्रसमेत रहेको छ । बाँकीका नेता थापाको निर्वाचन क्षेत्र पर्छ । जहाँ थापा निकट राजारामकै प्यानल नै निर्वाचित भएको छ ।
उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् । यस्तै सचिवमा विजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी निर्वाचित भएका हुन् । सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएका छन् ।