एमाले सम्वाद र वार्ताबाट भाग्न खोज्यो- सरकार

१४ असोज, काठमाडौं । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले नगएपछि सरकारले एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको बताएको छ ।

संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए ।

२३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।

संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’

सर्वदलीय बैठकमा सहभागी दलहरुले संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सकारात्मक भूमिका खेल्न विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा९एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।