विराटनगरको उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार

११ असोज, विराटनगर । विराटनगरको उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार भएको छ ।

३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।

बिहान काठमाडौंबाट आएका उनी जिल्ला प्रशासन कार्यालय हुँदै मुद्दा दर्ताका विषयमा सल्लाह गर्न वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल फर्ममा पुगेका थिए । त्यहाँबाट निस्किएर आफ्नो गाडीतर्फ जाँदै गर्दा उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको थियो ।

खुकुरी प्रहार गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन् । अर्का युवक फरार छन् । खुकुरी प्रहार गर्ने व्यक्ति विराटनगरमा मिटरब्याज र गुण्डागर्दी गर्ने गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारपछि घाइते भएका लामालाई विराट नर्सिङ होम र विराटनगर अस्पतालमा उपचार गरी थप उपचारका लागि आइतबार नै काठमाडौं लगिएको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।