नेपाली काँग्रेस रघुगंगा गाउँपालिका सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन

म्याग्दी ९ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडास्तरीय अधिवेशन सकिएका गाउँपालिकामा हिजोबाट पालिका अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला रघुगंगा गाउँपालिको काँग्रेस अधिवेशन हिजो सम्पन्न भएको छ । सो पालिकाको काँग्रेस पार्टी सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुएका छन् । प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो ।

अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन भएका छन् ।

पार्टी विद्यानमा दुई÷दुई उपसभापति र सचिब रहने प्रावधान रहेपनि स्थानीय सहमती अनुसार तीनरतीन जना बनाइएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि गाउँपालिका समितिका निवर्तमान सचिब रहनुभएका शेरपुञ्जा, सभापति रहनुभएका जीवनकुमार मल्ल र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले दावि गर्नुभएको थियो ।

सर्वसम्मत नेतृत्व चयनको लागि मार्गप्रसस्त गर्दै मल्ल सभापतिको प्रतिस्पर्धाबाट पछि हटेपछि अन्तिममा शेरपुञ्जा र भण्डारीबिच मतदान प्रकृयाबाट नेतृत्व चयन हुने अवस्था पुग्न लागेको थियो । यद्यपी अधिवेशनको उद्घाटन सभा लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि सभापतिका दावेदारको रुपमा रहनुभएका शेरपुञ्जा र भण्डारीबिचमा निर्णायक वार्ता भएको थियो । सो क्रममा आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा पुनः भण्डारीलाई नै अघि सार्न शेरपुञ्जा सहमत भएपछि सभापति पदमा भण्डारीले शेरपुञ्जालाई सघाउनुभएको स्रोतको दावि छ ।