काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा

१० असोज, काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् ।

दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।
सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ । त्यसो त काठमाडौं उपत्यकामा यसअघि पनि केही विद्यालय सञ्चालन भैरहेका छन् ।

महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।

कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो ।

विद्यार्थी सङ्ख्या धेरै भएका  विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ ।