संशोधित बजेट संसद्का दुवै सदनबाट पारित प्रमाणीकरणका लागि राष्ट्रिपति कहाँ पठाउने तयारी

७ असोज, काठमाण्डौ । सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए । सो विधेयकलाई आज बसेको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकले पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । सदनबाट पारित भएको विधेयकलाई सभामुखले आजै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आजै पठाउने बुझिएको छ ।

नेपालमा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति (सटडाउन) निम्तिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन ।

अहिले संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक नेपालमा अन्य खर्च रोकिएको छ । तर, दुवै सदनले बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ खर्च अवरोध हट्नेछ ।