नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ ।

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको एक नेताले बताए ।

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा। विजय पौडेललगायतले दाबी गरेका छन् ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरु टुंगो लगाइने छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य हुने छन् ।

हाल स्थायी कमिटीमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा। वेदुराम भुसाल र प्रमेश हमाल छन् ।

एकीकृत समाजवादीले यसअघि प्रदेश इञ्चार्जहरु तोकेको थियो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इञ्चार्ज छन् । सुदूरपश्चिमको इञ्चार्ज भने तोक्न बाँकी छ ।

यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ र मोर्चा इञ्चार्ज डा। विजय पौडेल छन् ।