अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि

५ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिएकाा छन् ।

राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पनि गरेको छ । छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिएका थिए । छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।

२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन् ।

अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन् ।