आफ्नै पति हत्याको गरेको आरोपमा श्रीमती पक्राउ

४ असोज, जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमानश्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

दुखहरणको हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।