Breaking News

एमाले सांसदको नाराबाजीसँगै विनियोजन विधेयक बहुमतले पारित

४ असोज, काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

प्रतिनिधिसभामा आजको बैठक जारी छ । बैठकमा एमाले सांसदहरुले रोष्टममा नाराबाजी गरिरहेका छन् भने समामुखले संसद बैठक अगाडी बढाई रहेका छन् । यसै बीचमा विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ ।

२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो ।

तर, सभामुखले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका छन् । आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।