केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको त्यसैले त्यसको जवाफ जनताले दिने

नेकपा एकीकृत समाजवादी अध्यक्ष, माधव कुमार नेपाल

३ असोज, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीले आज पोखरामा संविधान दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्ने क्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालय उद्घाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गरेका छन् ।

‘आज देशको अवस्था किन यस्तो भयो । एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो, अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेका छन् । जनताको नजरबाट तल खसिसकेको छ । यसको इज्जत प्रतिष्ठा गुमिसकेको छ ।’

केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको भन्दै उनले त्यसको जवाफ जनताले दिने बताए । ‘सांसदहरुले मेरो आदेश मानेनन्, म सबैको कत्लेआम् गर्दिन्छु भनेर संसदको हत्या गरियो,’ संसद भंगप्रति लक्षित गर्दै उनले भने, ‘कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ । हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदैछन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

नेपाल एयरलाइन्स समेत बेच्न खोजेको भन्दै उनले यति समूहसँगको सम्बन्धबारे प्रश्न उठाए । ‘योभन्दा पहिलेको सरकार‘ भन्न पनि अप्ठ्यारो, एमालेको सरकार‘ यति कम्पनीलाई कति काखी च्यापेको होला ।

वाइडबडी खरिद भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे छानबिन बनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।