नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन्।
आज एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।
उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे।
‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन्। हिजो हामीले २०७७ चैत ४ र ५ गतेपश्चात बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रूपान्तरित भइरहेका छन्। त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन। पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा (एमाले) भित्रको क्रान्तिकारी धारले सुरू गरेको यो पार्टीको नयाँ यात्रा हो। क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन्। कतिपय मानिसहरू अझै त्यहाँ अल्मलिएका होलान्, असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान्। असल भावना भएका मानिसहरू पनि। ती व्यक्तिहरूले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ। उहाँहरूलाई हामी स्वागत गर्नेछौं।’
अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन पनि आग्रह गरे। उनले व्यवसायीहरू लाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन उनको आग्रह छ।