काठमाण्डौ उपत्यकाका अधिकांश बिद्यालय दशैं अगाडी खुल्न नसक्ने

३० भदौ, काठमाडौं । काठमाण्डौ उपत्यकाको सिडियो बैठकले काठमाडौ उपत्यकाका शैक्षिक संस्थाहरु यही असोज १ गतेबाट खुल्न अनुमति दिएपनि दशैं अगाडी खुल्ने छाँटकाट छैन । तर केही स्थानीय तहले आफ्ना क्षेत्र अन्तर्गत संचलान भएका बिद्यालय खोल्ने अनुमति अनुसार खोलि सकेको छन् भने केही आजबाट खुलेका छन् तर अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने देखिएकोे छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको बताए । कम विद्यार्थी भएको विद्यालयले भने माथिल्लो कक्षाका विद्यार्थी पठन पाठन गराउन सक्ने उनको भनाइ छ ।

निजी विद्यालय सञ्चालकको अर्को संस्था एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताए ।

‘काठमाडौं रेड जोनमा परेपनि सबैतिर फरक अवस्था भएकाले विद्यार्थी संख्या कम भएको विद्यालयमा मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय चाहिँ विस्तारै खोल्ने भन्ने छलफल भयो ।’

काठमाडौं उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालन गरेपछि निर्णयमा एकरुपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई छलफलमा बोलाएका थिए ।

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने दशैंअघि विद्यालय नखोल्ने भद्र सहमति भएको बताए । उनले भने ‘कतिपय बालबालिकाहरु गृह जिल्लामा भएको र उपत्यकाका काठमाडौं, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा दशैंअघि खोल्न हतार हुने भएकोले दशैंपछि खोल्ने भद्र सहमति भएको छ ।’

काठमाडौं उपत्यकाका केही स्थानीय तहमा विद्यालय खुले पनि काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले विद्यालय खुलाउने निर्णय गरेका छैनन् । ललितपुर महानगरपालिकाले भने विद्यालय खोल्ने निर्णय गरिसकेको छ । स्थानीय तहहरुको निर्णयमा एकरुपताका लागि बिहीबार बैठक बोलाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले कोरोना संक्रमणको जोखिम हेरेर स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने बताए । तर बालबालिकाको स्वास्थ्य सुरक्षाको जोखिमबारे सोच्नुपर्ने उनले बताए ।

‘जोखिम घटेको छैन, देशभरको सबै पालिकामा एउटै अवस्था छैन सबै विद्यालयमा पनि एउटै अवस्था छैन’ उनले भने, ‘सबै निकायलाई संवेदनशील भइदिन अनुरोध छ ।’