सेप्टेम्बर ११ मा अमेरिकामाथि आक्रमण हुँदा के-के भएको थियो?

एजेन्सी

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएपछि केही समयदेखि धेरैले २० वर्षअघिको एउटा घटनाको चर्चा गरिरहेका छन्। सन् २००१ को सेप्टेम्बर ११ तारिखका दिन उक्त घटना नभएको भए सायद विश्वको राजनीतिक परिदृश्य आज अर्कै हुन्थ्यो।

शनिबार अमेरिकामा २० वर्षअघि भएको उक्त आंतकवादी हमलाको सम्झना गरिएको छ। राष्ट्रपति जो बाइडेन स्मृति समारोहमा सहभागी भएका छन्।

९/११ भनेर चिनिने उक्त घटनाको सम्झना यसअघिका वर्षभन्दा यसपालि फरक रह्यो। किनभने यसअघिका वर्षमा उक्त दिनको सम्झना गर्दा हजारौं अमेरिकी सैनिक अफगानिस्तानमा हुन्थे, यसपालि उनीहरू सबै घर फर्किइसकेका छन्।

अफगानिस्तानमा अमेरिकाले २० वर्ष लामो युद्ध लड्यो। झन्डै २ हजार पाँच सय अमेरिकी सैनिकले ज्यान गुमाए, २० खर्ब डलरभन्दा बढी पैसा सकियो। अहिले कतिपय मानिसले यतिधेरै अमेरिकी, समय र पैसा खर्चेर अमेरिकाले अफगानिस्तान युद्धबाट के पायो भनेर पनि प्रश्न गरिरहेका छन्।

२० वर्षअघि अमेरिका आफ्नो देशमा भएको आतंकवादी हमलाका योजनाकारलाई दण्डित गर्न अफगानिस्तान पुगेको थियो।

त्यो दिन अमेरिकामा कसैले सोच्दै नसोचेको आतंकवादी हमला भएको थियो। अफगानिस्तानमा रहेको अलकायदा समूहका सदस्यले विभिन्न जहाजहरू हाइज्याक गरी अमेरिकामाथि आक्रमण गरेका थिए।

समाचार संस्था रोयटर्सले ९/११ का दिन के-के भएको थियो भन्ने विवरण प्रस्तुत गरेको छ।

बिहान ७ बजेर ५९ मिनेटमा अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ११ को जहाज बोस्टनबाट लस एन्जलसका लागि उडेको थियो। ८ बजेर १४ मिनेटमा उक्त जहाजको ग्राउन्डसँग अन्तिम सम्पर्क भएको थियो। ८:१९ मा जहाजका फ्लाइट एटेन्ड्यान्टले नर्थ क्यारोलाइनाको अफिसमा आपतकालीन अवस्था भयो भनेर फोन गरेका थिए।

ncell in

८:४६ मा उक्त जहाज न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरको उत्तरतिरको भवनमा ठोक्कियो। भवनमा आगो लाग्यो र झन्डै पौने दुई घन्टापछि १० बजेर २८ मिनेटमा भवन ढल्यो।

उता युनाइटेड एयरलाइन्सको फ्लाइट नम्बर १७५ हाइज्याक भएको थियो।

बिहान ७ बजेर ५८ मिनेटमा उक्त जहाज  पनि बोस्टनबाट लस एन्जलसका लागि उडेको थियो। चालक दलले ८:४२ मा अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ११ को जहाजबाट केही शंकाष्पद आवाज सुनेको ग्राउन्डलाई रिपोर्टिङ गरेको थियो। त्यो नै उक्त जहाजको ग्राउन्डसँग अन्तिम सम्पर्क थियो।

८:५२ जहाजका फ्लाइट एटेन्ड्यान्टले एयरलाइन्सको सान फ्रान्सिस्कोस्थित अफिसमा सम्पर्क गरी जहाज अपहरणमा परेको, दुई जना पाइलटलाई मारिएको र अपहरणकारीले जहाज उडाइरहेको जानकारी दिएका थिए।

८:५८ मा उक्त जहाज न्युयोर्क सिटीतर्फ मोडिएको थियो।

९ बजेर ३ मिनेटमा उक्त जहाज वर्ल्ड ट्रेड सेन्टरको दक्षिणतिरको भवनमा ठोक्कियो।  ९ बजेर ५९ मिनेटमा उक्त भवन पनि ढल्यो।

अमेरिकन एयरलाइन्सको फ्लाइट ७७ जहाज पनि अपहरणमा परेको थियो।

उक्त जहाज ८ बजेर १० मिनेटमा डेलासबाट लस एन्जलसका लागि उडेको थियो। ८:५४ मा उक्त जहाजले निर्धारित रूट छोड्यो। केहीबेरमै सम्पर्कभन्दा बाहिर गयो। ९ बजे जहाज सुम्पर्कविच्छेद भएको थाहा पाएपछि उत्तर पूर्वी अमेरिकामा रहेका अमेरिकन एयरलाइन्सका सबै जहाजलाई ग्राउन्डमै रहन निर्देशन दिइयो।

९ बजेर ३४ मिनेटमा रोनाल्ड रेगन वासिङ्टन नेसनल एयरपोर्टले युएस सेक्रेट सर्भिसलाई एउटा जहाज राष्ट्रपति कार्यालय ह्वाइटहाउसतिर गइरहेको जानकारी गरायो।  केहीबेरमा जहाज ३३० डिग्री टर्न गरेर रक्षा मन्त्रालय रहेको पेन्टागनतर्फ मोडियो।

९ बजेर ३७ मिनेटमा उक्त जहाज पेन्टागनमा दुर्घटनाग्रस्त भयो।

युनाइटेड एयरलाइन्सको फ्लाइट नम्बर ९३ को जहाज पनि अपहरणमा परेको थियो। ८ बजेर ४२ मिनेटमा उक्त जहाज न्युजर्सीको न्युआर्क सहरबाट सान फ्रान्सिस्कोका लागि उडेको थियो।

९:२८ मा उक्त जहाज एक्कासी ७ सय फिट तल आयो। त्यतिबेला क्लेभल्यान्डका एयर ट्राफिक कन्ट्रोलले चालक दलबाट आपतकालीन संकेत पाएका थिए।

९:५९ मा उक्त जहाजका यात्रुले हाइज्याक गर्नेमाथि आक्रमण थाले। १० बजेर २ मिनेटमा उक्त जहाज पेन्सल्भेनियाको मैदानमा बजारियो।

एकपछि अर्को जहाजमा समस्या देखिन थालेपछि अमेरिकाको संघीय नागरिक उड्डयन प्राधिकरणले ९ बजेर ६ मिनेटमा न्युयोर्क र आसपासका एयर कन्ट्रोलसँग सम्पर्क गरी उड्न लागेका सबै उडान स्थगित गर्‍यो। ९ बजेर ८ मिनेटमा देशभरिका सबै यात्रुवाहक जहाजको उडान रोकियो। ९ बजेर ४५ मिनेटमा आकाशमा रहेका सबै जहाजलाई नजिकैको विमानस्थलमा अवतरण गर्न भनियो। त्यतिबेला अमेरिकाको आकाशमा  ४ हजार ५ सय ४६ वटा जहाज थिए।

आक्रमण भएको दिन तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस फ्लोरिडाको एउटा विश्वविद्यालयको कार्यक्रममा थिए।  ९ बजेर ५ मिनेटमा उनका चिफ अफ स्टाफले आएर कानमा अर्को जहाज पनि वर्ल्ड ट्रेड सेन्टरमा ठोक्कियो, अमेरिकामाथि आतंकवादी हमला भयो भनेका थिए। यो खबर सुनेपछि बुस पाँचदेखि सात मिनेटसम्म विश्वविद्यालयमै रहेको बताइन्छ।

९ बजे ३५ मिनेटमा बुस एयरपोर्टका लागि हिँडेका थिए र ९:४२ देखि ९:४५ को बीचमा उनी एयरपोर्ट पुगेका थिए।

९ बजेर ५४ मिनेटमा उनी चढेको एयर फोर्स वन जहाज गन्तव्य नै नतोकी उडेको थियो। पछि उक्त जहाज लुजियानाको बार्क्सडेल एयरफोर्स बेसमा उत्रिएको थियो। जहाजबाट बुस नझरून्जेल सैनिकहरूले जहाजलाई घेरा हालेका थिए। त्यसपछि बुस अर्को जहाजबाट वासिङ्टन उडेका थिए।

चार वटा जहाज अपहरण गरी भएका आतंकवादी हमलामा झन्डै ३ हजार मानिस मारिएका थिए। तीमध्ये वर्ल्ड ट्रेड सेन्टरमा मात्रै २ हजार ६ सय जनाको मृत्यु भएको थियो भने पेन्टागनमा १२५ र अरू जहाजमा २६५ जनाको ज्यान गएको थियो।