बालुवाटारमा सत्तारुढ गठबन्धन दलका नेताको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन दलका नेताकोे बैठक बस्दै छ । आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने बुझिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए । मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उनको भनाइ छ ।

शुक्रबारको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ । शुक्रबार देउवाले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने नीति अख्तियार गरेपछि तत्काललाई मन्त्रिपरिषद विस्तार रोकिएको छ । साथै मन्त्रालयगत भागबण्डामा पनि सहमति जुटिसकेको छैन । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य मन्त्रालयमा विवाद छ ।