गलेश्वरधाम मन्दीरमा पित्तलको छाना हाल्ने काम सम्पन्न

कृष्णबहादुर कार्की /गण्डकी ब्यूरो

धार्मिक स्थलको रुपमा प्रख्यात तिर्थस्थल गलेश्वरधाममा रहेको गलेश्वर मन्दीरको स्वरुप फेरिएको छ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिर २३ वर्षअघि निर्माण भएको थियो । आज सोही मन्दीरको छाना गलेश्वर शिवालय क्षेत्र विकास कोषले पित्तलले छाएको छ।

विसं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । हाल आएर मन्दिरको छाना परिवर्तन गर्ने काम सकिएको छ । गलेश्र शिवालय विकास समितिका अनुसार आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि चार महिना काम हुन सकेन तर ढिलै भएपनि पित्तलको छानाका हालिएको समितिले बताएको छ ,

मन्दिरको छाना छाउनका लागि कोषका आजीवन सदस्य रमेश शर्माले रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको
छ । उहाँका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो । कूल रु ३१ लाख ५० हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक स्रोतबाट रु २७ लाखभन्दा बढी ब्यहोर्ने निर्णय भएको छ ।

अहिले छानोमाथि प्लाइउड र पित्तल राखिएको हो । पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने उहाँ बताउनुभयो । छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । यो मन्दीरलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर यहाँको प्रमुख धार्मिकस्थल हो

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।