पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने

एमाले महासचिव, ईश्वर पोखरेल

२० भदौ, विराटनगर । नेकपा एमाले मोरङले विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताएका हुन् । उनले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताए ।

‘१० बुदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन,’ उनले भने,कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’

उनले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने बताए ।

‘२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले कानुनी रुपमा जेठ २ मा पुग्यौं,’ उनले भने,‘‘यसलाई यान्त्रिक ढङ्गले बुझ्न हुदैन, २०७५ साल जेठ २ फेरि त्यही अवस्थामा जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छ ।’

महासचिव पोखरेलले हिजोका दिनमा पार्टीको जिम्मेवारी लिएका र पार्टीमै रहेकाहरुलाई समेटेर जिम्मेवारी दिइने बताए ।