अमेरिकाद्धारा चीनलाई आणविक हतियारको आरोप, चीनद्धारा ढाडै अस्वीकार

४ वैशाख, काठमाडौं । एजेन्सी । अमेरिकाले चीनले परमाणु बम परीक्षण गरेको आरोप लगाएको छ । अमेरिकाले सार्वजनिक गरेको हतियार नियन्त्रण, प्रमाणिकरण र अनुपालन सम्बधी एक रिपोर्टमा चीनले कम क्षमताको आणविक बम परीक्षण गरेको उल्लेख गरेको छ । तर चीनले अमेरिकाको यो दावीलाई इन्कार गरेको छ ।
रिपोर्टमा आणविक हतियार परीक्षणको कुनै प्रमाणित तथ्य भने प्रस्तुत गरिएको छैन । रिपोर्टमा चीनको लोप नुर परीक्षण स्थल र त्यहाँ हुने सैन्य गतिविधिलाई प्रमाणका रुपमा अघि सारिएको छ । वाल स्ट्रीट जर्नलले अमेरिकाको स्टेट डिपार्टमेन्टको रिपोर्टलाई हवाला दिँदै चीनको लोप नुर परीक्षण स्थलमा वर्षभर यसको तयारी गरिएको दाबी गरेको हो ।
अमेरिकाले चीनले ब्लाष्टको समयमा ‘जिरो इल्ड’ उल्लङ्घन गरेको हुनसक्ने आशंका व्यक्त गरेको छ । जिरो इल्ड यस्तो आणविक परीक्षण हो, जसमा कुनै चेन प्रतिक्रिया हुँदैन र यसलाई आन्तारिक ढंगले यसको व्यवस्थापन गरेको हुनसक्ने अमेरिकाको आशंका छ । अमेरिका र चीनले सन् १९९६ मा बृहत प्रतिबन्ध सन्धिमा हस्ताक्षर गरेका थिए ।
रिपब्लिकन पार्टीका सांसद टम कटनले दुई देशबीच भएको उक्त सन्धिको नियम चीनले तोडेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अमेरिकाले यो सन्धिको पालना गरिरहेको छ तर चीनले यसलाई तोडेको छ । उसले आफ्नो आणविक शक्ति बढाएको देखिँदैछ ।’ रिपोर्टलाई आधार मान्दै सांसद टमले भनेका छन्, ‘चीनले यो प्रमाणित गरेको छ कि उसले इमान्दारितापूर्वक काम गर्न सक्दैन ।’ गतवर्ष अमेरिकी खुफिया एजेन्सीले रसियाविरुद्द पनि यस्तै आरोप लगाएको थियो, जुन आरोप प्रमाणित भएको छैन ।
अमेरिकाले गलत आरोप लगायो ः चीन
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले गलत आरोप लगाएको भन्दै आक्रोस पोखेका छन् । उनले यसलाई झुट आरोपको संज्ञा दिएका छन् । उनले चीन आणविक परीक्षण प्रतिबन्ध गर्न प्रतिबद्द रहेको बताउँदै भनेका छन्, ‘चीनले जहिले पनि एक जिम्मेवार दृष्टिकोण अप्नाएको छ र अन्तर्रा्ष्ट्रिय दायित्वहरु पुरा गर्ने आफ्नो प्रतिज्ञाहरुलाई वफदारीपूर्वक पुरा गर्दै आएको छ । अमेरिकाको दावी पूर्णरुपमा निराधार छ ।
–दैनिक भाष्करको सहयोगमा रातोपाटीबाट