Breaking News

हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको हो अहिले कसैसंग एकता गर्ने योजना छैन

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले पार्टी ससदीय दलको कार्यालय सिंहदरबारमा संसदीय दलको नेताको रुपमा पदभारण गर्ने क्रमा अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले यस्तो बताएका हुन् ।

क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए । हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’

नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताए । उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गरे । केपी ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबार नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाल