१६ भदौ, काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी
दिए ।
पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले सभामुखको निर्णय बदर गर्न माग गरेको
छ ।
यसैगरी दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । एमालेले निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्याएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको दावी गरेको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका झलनाथ खनालको समेत वारेसमार्फत सनाखत गरिएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ ।
नेकपा एमालेले दर्ता गराएको तेस्रो रिट निवेदनमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीले कारबाही गर्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको तर सभामुखले कारबाही नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न माग गरिएको छ ।