राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण

बेनी, १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । २०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिर विभागसंग रु ६९ लाख ३० हजार ५६६ मा मिलीजुली किवेष्ट जेभीले ठेक्का सम्झौता गरी सम्पन्न गरेको हो ।


मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने गरि मन्दिरको पुजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताब तयार गरि विभागमा प्रस्ताब पेश गरिएकोमा सोही बमोजिम योजना छनौट भएर पुनःनिर्माण गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, मन्दिरको मौलिकता जोगिने, आधुनिकता झल्कने गरि पूर्वाधार निर्माण गरिएको
छ ।


मन्दिर पुननिर्माण गरिएको मन्दिरमा भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिएको छ भने र ढुंगा र काठकै सामाग्री प्रयोग गरिएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी प्रविधिलाई जोड दिएर मन्दिर पुनःनिर्माण गरिएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।


गत वैशाखदेखि मन्दिरको पुनःनिर्माण सूरु भएको थियो । पुननिर्माणको काम सम्पन्न भएपछि निर्माण कम्पनीका प्रतिनिधि राजीप ढुंगेल समेतले मन्दिरमा क्षमा पुजा गर्नुभएको छ । उक्त अवसरमा पुजा व्यवस्थापन समितिले निर्माण कम्पनीका साथै निर्माण कार्यमा परिचालन भएका कालीगढ र मिस्त्रीहरुलाई सम्मानपत्रद्धारा सम्मान गरेका छन् ।
धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ ।
मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको छ । यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ । तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।

म्याग्दी अनलाइनबाट