राष्ट्र बैङ्कद्धारा बैङ्किङ सेवा सम्बन्धी जिज्ञासाहरू तथा सुझाव सुन्ने व्यवस्था शुरु

४ वैशाख, काठमाडौं । कोरोना भाइरसले लकडाउनको अवस्थामा जनतालाई सेवा पुगोस् भनेर नेपाल राष्ट्र बैङ्कले बैङ्किङ सेवा सम्बन्धी जिज्ञासाहरू तथा सुझाव सुन्ने व्यवस्था गरेको छ । लकडाउनका बेला पर्नसक्ने विभिन्न समस्याहरुको समाधानका लागि राष्ट्र बैङ्कले बैङ्किङ सेवासम्बन्धी कुनै जिज्ञासा वा सुझाव भए आफ्ना अधिकारीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलन नदिन गरिएको लकडाउन र यसले बैङ्किङ कारोबार समेत प्रभावित भएको भन्दै राष्ट्र बैङ्कले समस्या भए आफ्ना अधिकारीहरुलाई टेलिफोन सम्पर्क गर्न भनेको हो ।
यसका लागि बैङ्कका तीन अधिकारीहरू तोकिएको छ । सर्वसाधारणहरुले समस्या परेको खण्डमा बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल (९८५१२८२१४०), विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र (९८५१०७९७९३) र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पर्क गर्न सक्नेछन् ।
कुन समस्या कसलाई सुनाउने ?
बैङ्कमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैङ्किङ कारोबारसम्बन्धी सम्पूर्ण विषयहरुमा कुनै समस्या वा जिज्ञासा भए बैङ्क तथा वित्तीय संस्था नियमन विभाग प्रमुख ढकाललाई सम्पर्क गर्न राष्ट्र बैङ्कले भनेको छ ।
विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमयसम्बन्धी सम्पूर्ण कारोबारका विषयमा विदेशी विनिमय विभागका प्रमुख मिश्र र मोबाइल तथा इन्टरनेट बैङ्किङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटटिएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार सम्बन्धमा बुझ्नु पर्ने वा कुनै सुझाव दिनुपर्ने भए भुक्तानी प्रणाली विभागका प्रमुख नेपाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।