Breaking News

एमाले उपाध्यक्ष वामदेव गौतम एमाले समाजवादीको बैठकमा जाने

३ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले हिजो मात्रै निर्माण गरेको नेकपा एमाले समाजवादीको बैठकमा जाने बताएका छन् । नेता गौतम त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने दाबी उनको छ ।

आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताए । ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भने ।

एमाले अध्यक्ष केपी ओलीले भने एकताको जिम्मेवारी नदिएको उनको गुनासो छ । ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ’ उनले भने, ‘तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’

माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उनको दाबी छ । भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए ।

बैठकले भने दुवै तर्फसँग वार्ता र सम्वादको जिम्मेवारी संयोजक गौतमलाई दिने निर्णय गरेको एक सहभागी बताए । उनका अनुसार भर्चुअल बैठकमा ७७ जना सहभागी थिए ।