Breaking News

तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चकित

अफगानिस्तानमा आफ्नो दूतावासका कर्मचारी र नागरिकको उद्धार गर्न नसक्दै विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टिमका सदस्यहरू चकित परेका छन्।

समाचार संस्था एपीका अनुसार २० वर्षसम्म अमेरिकाले युद्ध लडेको अफगानिस्तानमा विद्रोही समूह तालिबानले यति चाँडै काबुलमा सत्ता ढाल्ला भन्ने राष्ट्रपति बाइडेन र उनको टिमका कसैले सोचेका थिएनन्।

आइतबार काबुलमा जसरी घटनाक्रम विकसित भए त्यसले बाइडेन प्रशासनलाई अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार गर्नुमात्रै पनि ठूलो चुनौती बनाइदियो।

‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन्।

अहिले पनि काबुलमा आफ्नै नागरिक र अरूलाई उद्धार गर्न अमेरिकाले ६ हजार सैनिक तैनाथ गरेको छ।

बाइडेनले यसअघि नै अगस्ट अन्त्यसम्ममा मात्रै अमेरिकी सैनिक काबुलबाट फर्किने योजना सार्वजनिक गरेका थिए।

अमेरिकीहरूको योजनाअघि नै तालिबानहरूले काबुल कब्जा गरेपछि बाइडेन प्रशासनको रणनीतिमाथि पनि प्रश्न उठेको छ।

राष्ट्रपति बाइडेनको टिममा विदेश मामिलामा अनुभवी व्यक्तिहरू थिए र उनले अफगानिस्तानबारे नियमित ब्रिफिङ लिइरहेका थिए तर कसैले पनि तालिबानहरूले यति छिटो सत्ता कब्जा गर्छन् भन्ने आकलन गरेका थिएनन्।

राष्ट्रपति बाइडेन अहिले क्याम्प डेभिडमा छन्। त्यहीँबाट उनले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे उनले जानकारी लिइरहेका छन्। ह्वाइटहाउसका स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले अफगानिस्तानबारे बाइडेनले सार्वजनिक सम्बोधन गर्ने जनाएको छ। त्यस्तो सम्बोधन गर्ने भएपछि बाइडेन बुधबारसम्म क्याम्प डेभिडमा बस्ने योजना छोट्ट्याएर ह्वाइटहाउस फर्किने छन्।

एजेन्सी