नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक चलिरहेको छ । अध्यक्ष प्रचण्डले पेश गरेको रानीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । माओवादी जारी केन्द्रीय कमिटी बैठममा प्रस्तुत गरिएको विभानमा संशोधन गर्दै प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने, उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ । आज केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए ।
नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए । बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए ।