अफगानिस्तानको राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।
आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालिबानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् । प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादबिनै तालिबानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिबानीहरु काबुलतर्फ अघि बढेका हुन् ।
यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको
छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ ।
शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका
छन् ।तालिबानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न घानी सरकारलाई आग्रह गरेको छ । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ ।
(बीबीसी)