Breaking News

मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सीसी टीभी क्यामेरामा देखिने गरी राख्न माग

राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने क्रममा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सीसी टीभी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन्।

बैठकमा बोल्दै डा. खिमलाल देवकोटाले मन्त्री र सचिवले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि नदेखिएको भन्दै उहाँहरूको काम कारबाही देखिने गरी सीसी क्यामेरा राख्नु आवश्यक रहेको बताएका हुन्।

गुप्त कोठामा बसेर काम गरेको नागरिकले देख्न पाउनुपर्ने उनले बताए। यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आईएनजीओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने राष्ट्रिय सभा सदस्य देवकोटाले उल्लेख गरे।

‘यत्रो शासन व्यवस्था परिवर्तन भयो तर जनताले अपेक्षा गरे अनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अङ्ग निरन्तर क्रियाशील हुनुपर्छ । रचनात्मक हुन पनि जरुरी छ । पारदर्शी र जवाफदेहीता पनि त्यत्तिकै आवश्यक छ । यसै सन्दर्भमा एउटा काम यो सरकारले गरोस्, हाम्रै अध्यक्ष र संसद् सचिवालयले पनि लागू गरे हुन्छ’, उनले भने, ‘हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेको काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार नागरिकले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति दुई बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन । यसले अनावश्यक भेटघाट रोक्छ । समयमै कार्यालय पुग्ने बानीको विकास हुन्छ । कार्यालय छाडेर एनजीओ, आईएनजीओका कार्यक्रम र अनावश्यक रूपमा रिबन काट्न जाने बानीमा सुधार ल्याउँछ ।’

उनले सरकार साझा नीति तथा कार्यक्रमबाट पनि विचलित हुन नहुने बताए। सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बन्नुपर्ने र संयन्त्रको सुझावलाई अक्षरश कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।