हिजो राती २ बजेदेखि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । सो आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि नियन्त्रणमा आएको
हो ।
नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमाण्डमा १ सय २८ सेना परिचालित थिए भने सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो ।
बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालिमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो ।