अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा आक्रमण

एजेन्सी

अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा आक्रमण भएको छ। राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा मंगलबार राति स्थानीय समयअनुसार ८ बजेतिर बम बिस्फोट टोलो न्युज एजेन्सीले जनाएको छ।

रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन्। उनको परिवारका अरू सदस्य पनि सुरक्षित छन्।

बिस्फोटको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मीले चार जना आक्रमणकारीलाई मारेको समाचारमा जनाइएको छ।

काबुलको शिरपुर क्षेत्रमा उच्च सरकारी अधिकारीहरूका आवास बनाइएको छ।

यसैबीच मंगलबार दिउँसो काबुलमा भएको अर्को बिस्फोटमा परी चार जना सर्वसाधारणको मृत्यु भएको छ। मंगलबार दिउँसो तीन बजेतिर सार-ए-चौक क्षेत्रमा बिस्फोट भएको थियो।