निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा पेसी साउन १७ गते तोकियो

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार ठाकुरले बिहीबार नै निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका थिए । यसअघि नै महन्थ ठाकुरले साउन ८ गते हेड काउण्ट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता हेड काउण्टका आधारमा उपेन्द्र यादव समूहलाई दिएको थियो । त्यही निर्णयविरुद्ध महन्थ बिहीबार सर्वोचच अदालत पुगेका थिए ।

उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ । त्यसैगरी निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको सम्बन्धमा शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । अब आइतबारको पेसीमा दुवै मुद्दालाई एकै स्थानमा राखि हेरिने छ ।