ओली हाम्रा लागि प्रतिगमनकारी हुन्। प्रतिगमनकारी संविधान बनाएका हुन् नि ? राजेन्द्र महतो

जनता समाजवादी पार्टीको आधिकारिता बारे निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि निर्वाचन आयोगमा पत्रकारलाई प्रतिक्रिया दिने क्रममा नेता राजेन्द्र महतोले प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफूहरूका लागि दुबै जना प्रतिगमनकारी भएको बताएका छन्।

‘देउवा र ओली हाम्रा लागि प्रतिगमनकारी हुन्। प्रतिगमनकारी संविधान बनाएका हुन् नि,’ महतोले भने।

आज निर्वाचन आयोगले जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आयोगमा हस्ताक्षर सनाखत गर्न बोलाएको थियो।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले पार्टी फुटाएको पनि आरोप लगाएका छन्। ‘पार्टी आधिकारिकता निर्वाचन आयोगले होइन जनताले दिने हो,’ उनले भने।

उनले उपेन्द्र यादवलाई आफूहरूले पहिले पार्टी एकता गरेर बिजोग हुनबाट जोगाइदिएको पनि बताएका छन्। उनले अर्को पार्टी बनाउने वा के गर्ने भन्नेबारे पछि थाहा हुने प्रतिक्रिया दिए।