युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन

नेकपा एमाले अध्यक्ष ओली पक्षले ब्युँताएको युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।

आज शनिबार बबरमहलकोे कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो।

महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो।

युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नै महासचिव पोखरेलले जन्म जसरी भएको थियो, त्यसरी नै पार्टीका राजनीतिक कार्यक्रम र जनतासँग जोडिएर काम गर्न निर्देशन दिए।

उनले संविधानको सर्वोच्चता, कानुनी शासन र हिजो एमालेले गरेका राम्रा कामलाई खत्तम गर्न खोजियो भने त्यसको विरूद्धमा भूमिका खेल्न निर्देशन दिए।

युथफोर्स आतंकको स्रोत होइन भन्दै उनले कसैले आतंक सिर्जना गरे जवाफ दिने शक्ति भएको बताए।

‘हिंसाका पक्षपातीलाई ठिक लगाउने शक्ति हो युथफोर्स,’ उनले भने, ‘हामी संविधान र कानुनी शासनको पक्षमा छौं, युथफोर्सले यही चिजलाई सबल बनाउन सहयोग गर्छ।’

जनता कहीँ असुरक्षित छन्, त्रास फैलाइएको छ भने र राजनीतिक नेता कार्यकर्तालाई हमला गरिए, जनतामाथि हिंसा थपिए, संवैधानिक प्रक्रियालाई तोड्न खोजिए र जनादेशलाई लत्याउन खोजिए तयार हुन निर्देशन दिए।

पोखरेलले परिवर्तित अवस्थामा जनतालाई चित्त नबुझेका काम नगर्न, आतंकको खबरदारी गर्न, उत्पादनका कुरासँग जोडिन, रोजगारी र स्वरोजगारका पक्षमा अभियान चलाउन निर्देशन दिए।

पोखरेलले अनियमितता र भ्रष्टाचारको खबरदारी गर्न निर्देशन दिंदै ‘हामी शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्छौं। कोही त्यसको विरूद्धमा जान्छन्, संवैधानिक पक्रियालाई अवरुद्ध पार्न खोज्छन् भने खबरदारी गर्नपर्छ,’ पोखरेलले भने।

पोखरेलले राजनीतिको ब्यानर उठाएर हत्या हिंसा र अपराध गर्नेहरू खुलेआम हिँड्न थालेका बेला, राज्य निरीह बनेको बेला जनता, युवा र नेताको सुरक्षाको लागि युथफोर्सको जन्म भएको भन्दै अहिले परिवर्तित अवस्थामा पनि भूमिका खेल्नुपर्ने बताए ।

राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथफोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय आशंका जन्मिएको भन्दै धेरै आशंका पालिरहन जरुरी नरहेको बताए। उनले युथफोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने वैरीहरूलाई मुठीले नै प्रतिवाद गर्ने बताए।

विजय गच्छदारलाई धरौटीमा छोड्ने र भ्रष्टाचारीलाई बचाउने काम भए सशक्त अभियान चलाइने उनले बताए।

उनले हिम्मत भए एमालेका मान्छेलाई समातेर देखाउन चुनौती दिए। भ्रष्टाचारी एमाले कोही छ भने समातेर देखाऊ,’ उनले भने।

उनले एमालेले गठन गरेको भूमिआयोगलाई निस्कृय बनाएर ५८ हजार सुकुम्बासीलाई लालपूर्जा दिलाउने योजनामा सरकारले बाधा पारिरहेको र खारेज गर्ने खालका षडयन्त्र भए देशभरि आगो बल्ने चेतावनी दिए।

उनले राष्ट्रपतिलाई महाअभियोग लगायने षडयन्त्र बनाउने कुनै षडयन्त्र पनि नगर्न उनले खबरदारी गरे।

बस्नेतले ओली सरकारले पार्टीलाई जोगाउन अध्यादेश ल्याउँदा विरोध गरिएको, पार्टी फुटाउन खोजिएको भन्नेहरूले अहिले अध्यादेश ल्याएर एमाले फुटाउने षडयन्त्र गरिरहेको बताए। उनले एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आगो बल्ने चेतावनी दिए।