अमेरिकी अर्बपति जेफ बेजोस र अरू तीन जना मंगलबार अन्तरिक्षमा पुगेर फर्किए

एजेन्सी

अमेरिकी अर्बपति जेफ बेजोस र अरू तीन जना मंगलबार अन्तरिक्षमा पुगेर फर्किएका छन्।

बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले मंगलबार साँझ १० मिनेटको यात्रा गरेका हुन्।

अमेजन कम्पनीका संस्थापक बेजोसले अन्तरिक्ष यात्रामा आफ्ना भाइ मार्क, पूर्वपाइलट ८२ वर्षकी वाली फंक र १८ वर्षीय किशोर ओलिभर डाइमेनलाई समावेश गरेका थिए।

सन् १९६० को दशकमा नासाको अन्तरिक्ष यानमा जान नपाएकी फंकले मंगलबार आफ्नो सपना पूरा गरेकी हुन् भने नेदरल्यान्डका  ओलिभर ‘न्यु सेफर्ड’मा अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा कम उमेरका व्यक्ति हुन्।

उनीहरू चढेको ‘न्यु सेफर्ड’ पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएको थियो। उक्त ठाउँमा गुरूत्व बल नहुने भएकाले उनीहरू यानभित्रै तैरिएका थिए। झन्डै चार मिनेट उनीहरूले तौलको अनुभव गरेका थिएनन्।

त्यसपछि उनीहरू फेरि जमिनमा फर्किएका थिए।

अमेजनका मालिक  बेजोसले सन् २०००मा ब्लु ओर्जिन कम्पनी खोलेका थिए। उक्त कम्पनीले बनाएका मानवरहित रकेट यसअघि नै अन्तरिक्षमा गइसकेका छन् भने यात्रु लिएर न्यु सेफर्ड पहिलो पटक अन्तरिक्षमा गएको हो।

केही दिनअघि इन्स्टाग्राममा बेजोसले आफूले पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने गरेको बताएका थिए।