चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ।
शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ।
रेल, सडक र विमानस्थल बन्द गरिएका छन्।
मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन्। औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो।
मौसमविद्हरूले हेनानमा यति धेरै वर्षा एक हजार वर्षमा एक चोटी हुने घटना भनेका छन्।
बुधबार पनि उक्त प्रान्तमा भारी वर्षा हुने अनुमान गरिएको छ भने सामान्य वर्षा अझै केही दिन जारी हुनेछ।