पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस्

माधव पक्ष सांसद

५ साउन काठमाडौं । साउन ३ गते प्रतिनिभिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् ।

एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ सांसदको बैठक बसेको थियो । बैठकमा प्रतिनिसभा पुनर्स्थापनाका लागि खेलेको भूमिका र आगामी बाटोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

सांसदहरुले पार्टीले स्पष्टीकरण सोधेको भन्ने सुनेपनि पत्र नपाएको सांसद विरोध खतिवडाले बताए । ‘यो मिडिया खपतका लागि मात्र हो, हामीसम्म (पत्र) आएको छैन’ सांसद खतिवडाले भने ।

अर्की सांसद रामकुमारी झाक्रीले स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने बताइन् । साथै उनले बदला भाव त्याग्न र पार्टीलाई एकतावद्ध गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरिन् ।

काठमाडौंमा रिसाएको बेला बिरालोले कहाँ गएर खाँबो चिर्थोछ भनेझैं बदला भाव नदेखाउन आग्ह गर्दै उनले भनिन्, ‘बदला लिने भए हामी तयार भयौं । त्यसैले क्षमाशील हुनुस् । पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस् ।’