जनतामा माफी नमागेसम्म एकता असम्भव

अध्यक्ष, उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ । यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो ।

ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताका लागि यादवले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकताका लागि पहल गर्न सकिने निर्णय गरेको सन्दर्भमा आफूहरुको बैठकले ठाकुरले जनतासँग माफी मागेमात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको सांसद प्रदीप यादवले जानकारी दिए ।

‘आयोगमा दिएको निवेदन फिर्ता लिन उपेन्द्र यादवलाई प्रस्ताव आएको छ । आजको संसदीय दलमा त्यो विषयमा एजेण्डा नभएपनि समान्य छलफल भएको छ’, यादवले भने, ‘प्रस्ताव ठिक वा बेठीक भन्दा पनि महन्थ ठाकुर पक्षले सार्वजनिक रुपमा जनतासँग माफी नमागेसम्म पुनः एकताका लागि प्रयास गर्नु हुँदैन भनि निष्कर्ष निकालिएको हो ।’

पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए । दोस्रो पटक विघटन हुँदा पनि उनीहरुले नै ओलीलाई साथ दिएपछि जसपामा तीव्र अन्तरविरोध हुँदै पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगसम्म विवाद पुगेको हो ।

तर यता जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य शरत सिंह भण्डारीले भने एकताका लागि विभिन्न कोणबाट छलफल भएपनि ठोस प्रस्ताव उपेन्द्र यादवलाई नपठाएको बताए । यद्यपी आयोगमा दिएको निवेदन फिर्ता लिए एकताको वातावरण बन्ने उनको धारणा थियो ।

यसैबीच यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ । सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रकृया सुरु गरिने सांसद यादवले बताए ।