जसपा को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ । इजलास बिहान ११ बजे बस्ने छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।

आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो चल्छ भन्ने कुरामा भर पर्छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।

जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आइतबार सशरीर निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षका एक नेताले जानकारी दिए ।

जसपाको महन्थ-राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिंदै सरकारमा सहभागी भएको थियो भने उपेन्द्र-बाबुराम पक्ष ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा सहभागी भएको थियो ।

उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने तयारीमासमेत छ ।