Breaking News

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच निष्कर्ष

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच भेटगरी अनौपचारिक छलफल भएको छ। छलफलमा नेकपा एमालेको पार्टी एकतालाई जोगाउन १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि जाने निष्कर्ष निस्केको नेताहरूले बताएका छन्।

‘भर्खरै पार्टीमा १० बुँदे सहमति भएको छ। सहमति पत्र पार्टी अध्यक्षलाई बुझाएका छौं। पार्टीका अर्का शीर्ष नेता माधव नेपाललाई बुझाएका छौं। त्यही १० बुँदे सहमतिलाई स्थायी कमिटीबाट अनुमोदन गरिएको छ। १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ,’ बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले भने, ‘यही विश्वासका साथ छलफल भएको छ। १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेका छौं।’

१० बुँदे सहमति नै एमाले एकतावद्ध बनाउनेमा उपयुक्त हुने निष्कर्षमा पुगिएको नेम्वाङले बताए। र, १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्नेमा विवाद नरहेको उनले स्पष्ट पारे।

‘पार्टीभित्र विभिन्न प्रकारका मत छन्। अदालतले जे फैसला गर्‍यो त्यसले धेरै कुरा भत्काएको छ। त्यसलाई मान्दै अगाडि बढ्छौं भन्ने निष्कर्ष हो। हामीले आपसमा छलफल गर्‍यौं। १० बुँदेबाटै एकतामा पुगिन्छ भन्ने निष्कर्ष हो,’ उनले भने।

बैठकपछि कुरा गर्दै नेता गोकर्ण विष्टले विगतका कुराहरूतिर फर्किन आफू नचाहेको भन्दै १० बुँदे सहमतिमा रहेर पार्टी एकतालाई कसरी जोगाउने र जिम्मेवारपूर्ण भूमिका खेल्ने भन्नेमा अनौपचारिक छलफल भएको बताए।