एमाले नेता तथा कार्यकर्ताको हजारौं सवारी साधनको स्कटिङ्ग सहित ओली बालुवाटार छाड्दै

अस्ति सर्वोच्चको फैसलाबाट पदमुक्त भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।

‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं’, बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।