१० बुँदे सहमति भएको विषयलाई लिएर नेपाल पक्षभित्र असन्तुष्टि त्यस बारेमा धारणा दिन केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न कार्यदलमा रहेका दुई पक्षबीच १० बुँदे सहमति भएको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षभित्र असन्तुष्टि देखा परेको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरू कार्यदल नै बनाएर पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधान गर्न क्रियाशील थिए। उनीहरूले आइतबार बेलुकी १० बुँदे सहमतिका प्रस्ताव सार्वजनिक गरेका थिए।

कार्यदलले गरेका सहमतिलाई अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने गरी गलत व्याख्या नगर्न भन्दै नेता नेपालले पनि असन्तुष्टि जनाइसकेका छन्।

नेपाल पक्षका अन्य नेताले पनि ‘प्रतिगमनको मतियारसँग झुकेको’ भन्दै कार्यदलको उक्त सहमतिप्रति असन्तुष्टि जनाएपछि आज केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

नेपाल पक्षका नेता राजेन्द्र राईले भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक बस्ने सेतोपाटीलाई बताए। उनले गत फागुन २८ मा ओलीले गरेका निर्णयलाई कार्यदलले स्वीकार गरेकोजस्तो देखिएकोले त्यो आफूहरूलाई स्वीकार्य नहुने पनि बताए ।

यस्तै नेता रामकुमारी झाँक्रीले आज आफूहरूको समूहको केन्द्रीय कमिटी बैठक बस्ने बताइन्। केन्द्रीय कमिटी बैठकपछि मात्रै कार्यदलले गरेको १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने उनले बताइन् ।

अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने उनको अडान छ। नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

कार्यदलले पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत १० बुँदे सहमति गरेको थियो। उक्त सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी थियो ।