चोटग्रस्थमै फाइनल खेल खेलेका थिए मेस्सीले

२७ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टिम कप्तान लियोनल मेस्सीप्रति आभार व्यक्त गरेका छन् । उनले मेस्सीको प्रशंसा गर्नुका साथै ब्राजिलसँगको फाइनल खेल चोटका बाबजुद पनि खेलेको खुलासा गरेका छन् ।

‘तपाईंले उसले कुन कसरी कोपा अमेरिका खेलेको थियो भन्ने थाहा पाउनुभयो भने उसलाई झन् धेरै माया गर्न थाल्नुहुनेछ,’ स्कालोनीले भने । रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा ब्राजिललाई पराजित गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्कालोनीले भने, ‘मेस्सीजस्तो खेलाडीविना तपाईंले यस्तो उपाधि कहिल्यै जित्न सक्नुहुन्न, जसले यो र अघिल्लो खेलमा जस्तै पूर्ण रुपमा फिट नहुँदा पनि खेल्न सक्छ ।’

स्कालोनीले मेस्सीले कस्तो चोटको सामना गरेका थिए भन्ने खुलाएनन् । आइतबार भएको कोपा अमेरिकाको फाइनल खेलमा जित हात पारेसँगै अर्जेन्टिनाले पछिल्लो २८ वर्षमा पहिलोपटक फिफा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको छ । साथै राष्ट्रिय टोलीको तर्फबाट मेस्सीले पहिलोपटक अर्जेन्टिनालाई सफलता दिलाएका हुन् । यसअघि पनि चारपटक महत्वपूर्ण प्रतियोगताको फाइनलमा पुगेर पनि मेस्सीले टोलीलाई जित दिलाउन भने सकेका थिएनन् ।

‘अन्तिमसम्म पनि उनले हार मानेनन् र सफल भए,’ सकालोनीले भने, ‘हामी सर्वकालीन उत्कृष्ट फुटबल खेलाडीको कुरा गरिरहेका छौं । साथै राष्ट्रिय टोलीको तर्फबाट यो उपाधि जित्नु उनका लागि कति महत्वपूर्ण थियो भन्ने सबैलाई थाहा छ ।’

स्कालोनीले मेस्सीसँगको सम्बन्ध प्रशिक्षक–खेलाडीमा सीमित नरहेको बताए । उनले मेस्सीका साथै उनका टोलीका सबै खेलाडीप्रति आभार व्यक्त गरे ।

एजेन्सीहरुको सहयोगमा