नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय

२७ असार, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘‍‍‍‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनउपर केही गरिरहनु परेन’ आयोगको निर्णयमा भनिएको छ ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए ।

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन दिएका थिए । आयोगले उनी अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभएको नदेखिएको भन्दै उनले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ ।

‘यसरी अन्य दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गर्ने निवेदक भविश्वर पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।