दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण

२४ असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् ।

७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालमा भ्रष्टाार गरेको आरोप छ । भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइमा सबुत पेस गर्न उनलाई अदालतले भनेको थियो । तर सो आदेश नमानेको आरोपमा उनलाई गत हप्ता १५ महिना जेल सजायँ सुनाइएको थियो । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो पहिलो घटना हो ।

आइतवार आत्मसमर्पण गर्न उनले अस्वीकार गरेका थिए । त्यसपछि प्रहरीले बुधबारसम्मको समय दिंदै पक्राउ गर्न आफूहरु तयारी अवस्थामा रहेको चेतावनी जारी गरेको थियो । जुमाको फाउन्डेसनले विज्ञप्ति जारी गर्दै पक्राउ आदेशको पालना गरेको जानकारी दिएको छ ।

जुमाले आफ्नो कार्यकालमा निर्णय प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञ र व्यापारीहरुसँग साठगाँठ गरेको आरोप छ । यद्यपि उनले आफूमाथि राजनीतिक षडयन्त्र भएको बताउँदै आएका छन् । विवादमा मुछिएपछि उनलाई सन् २०१८ मा उनकै पार्टीले पद त्याग्न बाध्य पारेको थियो ।