१२ तले भवन बिस्फोट गरेर भत्काईयो

एजेन्सी

अमेरिकाको फ्लोरिडा  राज्यस्थित सर्फसाइड सहरमा १० दिनअघि अचानक भत्किएको एउटा १२ तले भवनको बाँकी भाग अधिकारीहरूले बिस्फोट गरेर भत्काएका छन्।

न्युयोर्क टाइम्सका अनुसार कमजोर भएको उक्त भवनले हावाहुरी थेग्न नसक्ने ठानेर अधिकारीहरूले भत्काएका हुन्।

आइतबार राति भवनको बाँकी भाग भत्काइएको हो। जुन २४ को राति उक्त भवनको आधा भाग अचानक  भत्किएको थियो। भवन भत्किँदा मृत्यु भएका २४ जनाको शव फेला परेको छ भने १२१ जना अझै बेपत्ता छन्।

भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका थिए। कतिले  त भवनमा मिसाइल हानेजस्तो लागेको भनेका थिए।

सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन। स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन्।